युरोपेली मुलुकहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमाथि लगाएको अस्थायी प्रतिबन्धलाई फुकुवा गर्ने भएका छन् । युरोपको औषधि नियामक निकायले खोपलाई ‘सुरक्षित र प्रभावकारी’ बताएपछि ती देशहरुले खोपको प्रयोगलाई सुचारु गर्ने भएका हुन् ।

खोप लगाएका व्यक्तिमा रगत जम्ने (ब्लड क्लट हुने) समस्या देखिएको भन्दै १३ वटा युरोपेली मुलुकहरुले खोपको प्रयोगलाई अस्थायी प्रतिबन्ध लगाएपछि युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले यसबारे अनुसन्धान गरेको थियो । यसबाट रगत जम्ने समस्या खोपसँग सम्बन्धित नभएको एजेन्सीले ठहर गरेको छ ।

जर्मनी, फ्रान्स, इटाली र स्पेनले खोपको प्रयोगलाई पुनः सुचारु गर्ने बताएको छ भने स्वीडेनले केही दिनपछि यसबारे निर्णय गर्ने बताएको छ । अन्य देशहरुले यसबारे प्रतिक्रिया दिन बाँकी रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि बिहीबार सबै राष्ट्रहरूलाई खोपको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको थियो । संगठनले शुक्रबार खोपको सुरक्षाबारे आफ्नो मूल्यांकन प्रकाशन गर्नेछ ।

मार्च आठसम्म बेलायत र युरोपेली युनियनका मुलुकहरुमा १ करोड १७ लाख मानिसलाई खोप दिँदा ३७ जनामा रगत जम्ने समस्या देखिएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस !